देश/प्रदेश
यौनिक तथा अल्पसङ्ख्यकको पीडा कसले बुझ्ने ?
निरा गौतम,
रुपन्देही, जेठ २४–
रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए । परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन् ।
तेस्रोलिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्वीकार गरेन । कैयौँपटक आत्महत्याको असफल प्रयास गरे । जीविका चलाउन बुटवलका गल्लीहरु धेरै चाहारे तर भनेजस्तो काम नपाएपछि रेशम काठमाडौं गए । “केटाको शरीरमा केटीको भावना बोकेर हिँड्न मेरा लागि युद्ध जित्नु बराबर थियो, मैले त्यो शब्दमा बयान गर्न सक्दिनँ तर मलाई परिवार र समाजले कहिल्यै बुझेन”, उनले दुखेसो पोखे । उनलाई तेस्रोलिङ्गी भएकै कारण काठमाडौँमा पनि सबैले छिःछि र दूरदूर गरे । केही सीप नलागेपछि उनले ठमेलमा देह व्यापार शुरु गरे ।
मनोरञ्जनको दुनियाँमा रेश्मा डार्लिङको नामबाट उनले चर्चा बटुले । “मलाई राति ढिलो हुँदा पीर गर्ने कोही थिएन, न त कस्तो छ भनेर सोध्ने कोही थियो, जन्मदिने बुबाआमालाई त वास्ता भएन अरुले के भन्लान् भनेर कहिल्यै सोेचिनँ” रेशमले भने । नृत्यमा विशेष दख्खल राख्ने रेशमले विस्तारै देहव्यापार छाडेर नृत्य निर्देशकका रुपमा काम शुरु गरे । उनी नेपालको पहिलो तेस्रोलिङ्गी नृत्य निर्देशक हुन् । उनी अहिले आफ्नो पेशा र सामाजिक क्षेत्रमा क्रियाशील छन् । “हिजो छक्का भन्नेलाई छक्क पारेर काम गर्नु छ”, रेशम भन्छन् ।
पाल्पाको तानसेनमा जन्मिएका ३० वर्षीया अवान्तिका घर्तीमगरले तेस्रोलिङ्गी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहिन् । तेस्रोलिङ्गी भएकै कारण सानै उमेरमा परिवारले घरबाट निकालिदिएपछि बिचल्लीमा परेकी उनको भोगाइ दर्दनाक छ । “विद्यालय उमेरबाटै विभिन्न उपनामले गिज्याए, मानसिकरूपमा विक्षिप्त भएका बेला तानसेनमा म जस्तै अरु साथी भेटेँ”, उनी भन्छिन् । अहिले ब्लुडाइमण्ड सोसाइटीमा आवद्ध भएर उनले यौनिक तथा अल्पसङ्ख्यकको अधिकारका लागि आवाज उठाउँदै आएकी छन् ।
अर्घाखाँचीका १७ वर्षीय शिशिर भट्टराईको भोगाइ पनि सुखद् छैन । विद्यालयमा पढ्दापढ्दै अन्तरलिङ्गी भएको थाहा पाएपछि बुबाआमाले अनेक यातना दिए । “विद्यालयमा साथीभाइसँग बस्नसमेत दिइएन, न त बिरामी हुँदा उपचार पाएँ, एउटै कोखबाट जन्मिए पनि भाइबहिनी र ममा ठूलो विभेद गरियो”, शिशिर आँशु झार्दै दुःख पोख्छन् । अन्ततः बुबाआमाले कुटपिट गरी घरबाट निकालिदिएपछि उनी अहिले बुटवलमा छन् । “अन्तरलिङ्गी भएर जन्मिएर मैले के अपराध गरेँ ? जसका कारण मलाई परिवार र समाजले स्वीकार गरेन”, शिशिर प्रश्न गर्छन् ।
रेशम, अवान्तिका र शिशिर मात्र होइन, अधिकांश यौनिक तथा अल्पसङ्ख्यकहरुका पीडा एउटै छन्, परिवार र समाजले स्वीकार नगर्नु । “हाम्रो पहिचान स्वीकार गरिएको छैन, अझै पनि विभिन्न उपनाम दिएर जिस्क्याउँछन्”, नील हिरा समाजका अध्यक्ष आनिक रानाले भने । “सरकारी निकाय, सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला, पुरुष मात्रै उल्लेख हुन्छ तर हामी कहाँ जाने ?”, उनको प्रश्न छ । रानाका अनुसार रुपन्देहीमा करीब नौ हजार यौनिक तथा अल्पसङ्ख्यक छन् । तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजले हेला गर्ने मात्र होइन, सम्पत्तिबाट समेत बेदखल हुनुपरेको उनीहरुको गुनासो छ ।
“मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ । शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ”, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ कार्यालय निर्देशक सम्झनाको भनाइ छ । (रासस)