कालिका
शक्तिखोरमा औद्योगिक क्षेत्र: डीपीआर सकियो, ईआईए तीव्र

चितवन, जेठ १–
चितवनको कालिका नगरपालिकाको शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्र (पार्क)को डीपीआर सकिएको छ । एक हजार सात सय ४१ बिघा क्षेत्रफलमा ३६ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको औद्योगिक क्षेत्र (पार्क)को डीपीआर सकिएको हो ।
डीपीआर सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम तीव्र पारिएको छ । ईआईएको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु काठमाण्डौंको आयोजना एवम् इकोकोड–डिजिकोन जे।भी। ज्वागल, ललितपुर परामर्शदाता रही सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको थियो ।
औद्योगिक क्षेत्र सन् २०२२ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । १ लाख ५ हजारले प्रत्यक्ष रोजगारी पाउने यस औद्योगिक क्षेत्रलाई अहिले औद्योगिक पार्क नाम दिइएको छ । हरियाली सहितको यस क्षेत्रमा विश्वकै चर्चित उद्योगहरुको नमूनासमेत रहने गरी योजना बनेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले बताए । यस पार्कमा लगभग सात सय उद्योग स्थापना हुने लक्ष्य राखिएको छ । पार्कमा कर्मचारीको आवास, हेलिप्याड, हस्पिटल, प्राविधिक शिक्षालय सञ्चालन हुनेछन् ।
भइरहेको सेवा सुविधा नमासिने बरु स्थानीयले उद्योग स्थापना भएपछि थप सेवा सुविधा पाउने बताउँदै औद्योगिक क्षेत्र विकास लिमिटेडका नन्द किशोर बस्नेतले ३६ अर्ब रुपैयाँको यस परियोजनाको डीपीआर दुई वर्षको अवधीमा सकिएकोले सुविधासम्पन्न औद्योगिक क्षेत्र छिट्टै बन्नेमा कुनै शङ्का नरहेको बताए । सो क्षेत्रमा एक रुख कटान बरावर २५ रुख रोपिने उनले जानकारी दिए ।
कालिका नगरापालिका शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रबारे स्थानीयले बढी चासो दिएका छन् । विकासका नाममा सजिलै उपलब्ध हुँदै आएको खानेपानी, सडक जस्ता पूर्वाधार मास्ने काम भइरहेको भन्दै स्थानीयले औद्योगिक क्षेत्रको विकास हो की स्थानीयको उठिवास भनी जिज्ञासा राखेका हुन् । शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना भइरहदा आसपासका स्थानीयले खानेपानी, सडक, कुलो, चिहान, वनजंगल आदिको अवस्था कस्तो हुने विषयमा चासो राखेका छन् ।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आफूहरुको लक्ष्य पनि विकास नै रहेको भन्दै केन्द्र, स्थानीय वा प्रदेश जसले विकास गरे पनि जनताको हित हुने पक्षमा गरिनुपर्ने बताए ।