क्रिकेट

क्रिकेट र शारीरिक सुगठनका खेलाडीलाई नगद पुरस्कार

Banner

बैशाख २२, २०७६

गएको वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका टोली र खेलाडीहरु बिहीबार नगद पुरस्कार वितरण गरियो । युवा तथा खेलकुद मन्त्रालयले पुरुष राष्ट्रिय क्रिकेट टोली, पुरुष राष्ट्रिय फुटबल टोली र शारीरिक सुगठन खेलाडीलाई नगद प्रदान गरेको हो । सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा खेल मन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

पारस खड्काको टोलीले गत माघमा यूएईमा भएको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) तथा ३ खेलकै टी २० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । नेपालले दुबै शृंखलामा पहिलो खेल हारेर पुनरागमन गर्दै २–१ ले हात पारेको थियो । यो नेपाली राष्ट्रिय क्रिकेट टोलीको दुबै विधामा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हो । यही ऐतिहासिक उपलब्धिसँगै खेलकुद मन्त्रालयले पुरस्कार वितरण गर्ने घोषणा अनुसार पुरस्कार दिइयो । जसमा प्रत्येक खेलाडीलाई ५ लाख र प्रशिक्षक जगत टमाटालाई ३ लाख नगद पुरस्कार दिइयो ।

यस्तै क्रिकेट टोलीका ब्याटिङ प्रशिक्षक उमेश भादुरसिंह पट्वाल, फिजियो दिनेश भट्ट, टे«नर नन्डियाडा सुवास चन्द्र पात्रो र मेनेजर रमन शिवाकोटीका लागि जनही २÷२ लाख नगद पुरस्कार प्रदान गरियो ।

५ लाख पाउने क्रिकेट टोलीः पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, पवन शराफ, सन्दीप जोरा, भीम सार्की, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनास बोहरा, रोहितकुमार पौडेल र मोहम्मद आरिफ शेख ।

फुटबललाई ३ वर्षपछि बाँकी रकम उपलब्ध

यसैगरी तीन वर्ष अगाडि भारतको गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जित्ने फुटबल टोलीलाई पनि बाँकी जनही ३÷३ लाख नगद पुरस्कार दिइयो । स्वर्ण जिते लगतै ५ लाख दिने घोषणा गरिएकोमा २०७३ सालमा २÷२ लाख रुपियाँ उपलब्ध गराएको थियो । बाँकी रकम ३ वर्षपछि बल्ल ढिलै भएपनि फुटबल खेलाडीको हातमा पु¥याएको छ । फाइनलमा नेपालले आयोजक भारतलाई २–१ गोलअन्तरले हराएको थियो । सो फाइनल खेलमा नेपालले १–० ले पछि परेको अवस्थामा स्वर्ण जितेको थियो । दोस्रो हाफमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले एक–एक गोल गरेर २३ वर्ष लामो समयपछि साग फुटबलमा स्वर्ण दिलाएका थिए ।

३ लाख पाउने फुटबल खेलाडीहरुः विकेश कुथु, एलन न्यौपाने, अमृतकुमार चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मनबहादुर तामाङ, जगजित श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनील बल, रन्जन विष्ट, सुमन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमलघर्ती मगर ।

यस्तै गत डिसेम्बरमा थाइल्यान्डमा भएको १०औं विश्व शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका महेश्वर महर्जनलाई ५ लाख रुपियाँ पुरस्कार दिइयो । पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्नु नेपालले पाएको यो शारीरिक सुगठनमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।

खेलकुद मन्त्रालयले जनाएअनुसार क्रिकेटमा ९१ लाख, फुटबलमा ६० लाख र शारीरिक सुगठनमा ५ लाख गरी कूल १ करोड ५६ लाख रुपियाँ वितरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>