नवलपरासी

“गुरुयोजना नै बनाएर काम गर्दै छौं”

Banner

बैशाख २२, २०७६

कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि झन विकास निर्माणको कामले गती लिएको छ । कागेश्वरी मनोहरा नगरपालिका उपत्यकाको उर्वर कृषि क्षेत्र भएपनि अहिले विस्तारै कृषि क्षेत्र मासिदै गएको छ ।

मनहरा र बागमती किनारमा रहेको उर्वर जग्गा घनावस्तीको रुपमा परिणत हुँदै गएको छ । अव्यवस्थित रुपमा शहरीकरण हुन नदिन नगरपालिकाले गुरु योजना निर्माण गरेर नै योजनाबद्ध विकास निर्माणको काम थाल्ने भएको छ । निर्वाचित भएपछि नगरपालिकाले गरेको काम, आगामी योजना लगायतको विषयमा केन्द्रीत भएर कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापासँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरलेको कुराकानीः–

निर्वाचित भएपछि नगरपालिकाको विकासको लागि कहिलेसम्म के–के काम गर्नुभयो ?
–कागेश्वरी मनहरा नगरपालिकाले स्वच्छ सफा हराभरा बनाऔ,कागेश्वरी मनहरा भन्ने नारा अगाडि सारेको छ । नारा अनुसार नगरपालिकाभित्र देखिएको हिलो र धुलोमुक्त बनाउने योजना अगाडि सारेका छौंं । विकास निर्माण काम योजनाबद्ध रुपमा अगाडि बढाउनको लागि पाँच करोडदेखि पचास करोडसम्म खर्च गरेर डिपिआर तयार पारेको छौं । कागेश्वरी धामको विकास गर्न गुरु योजना बनेको छ । नगरपालिकाले पचास करोडमा सात तले भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाएका छौं ।

कागेश्वरी मनहरा गरपालिकाको चैत्र मसान्तसम्मको जनसंख्या बेस म्याप, घर नम्बर पनि तयार गर्दैछौ । २०६८ सालमा भएको जनगणना अनुसार अब पुनः जनगणना गर्न २०७८ साल कुर्नु पर्छ । नगरपालिकाको गुरु योजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । ०६८ सालमा नगरपालिकाको घर संख्या १४ हजार २ सय थियो । अहिले ०७५ मा आउदा २३ हजार ६ सय ७६ पुगेको छ । अब कुन घरमा मानिस कति छन भन्ने पनि तथ्याङक आउछ । नगरपालिकाभित्र भएको समग्र वस्तुस्थितको जानकारी संकलन गरेर गुरु योजना निर्माणमा जुटेका छौं ।

नगरपालिकाभित्रको सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा निकै सास्ती पाएको नगरवासीको गनुासो छ नि ?
–नगरपालिकाले सडक निर्माणसँगै व्यवस्थित बनाउने योजना अगाडि बढाएको छ । चाबहिल–साँखु सडकमा निर्माण सुरु भएको बर्षौ भइसक्यो । तर पनि निर्माण सम्पन्न भएको छैन् । केन्द्र सरकारले यो सडक निर्माण गरिरहेको छ । सर्वोच्च अदालतले सडक विस्तार गर्दा पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । केन्द्र सरकारले सडक विस्तारको क्रममा सडकमा पर्ने घर र जग्गाको मुअब्जा नदिएको हुनाले केही भागमा सडक निर्माणमा समस्या परेको छ । नगरवासीहरुले हामीलाई गाली गर्छन । तर हामीले केन्द्र सरकारले ठेक्का लगाएको ठाउँमा कुनै पनि काम गर्न दिदैन । खाल्डाखुल्डी प¥यो, त्यसमा मर्मत गर्न पनि नमिल्ने अवस्था छ ।

सडक लथालिङ हुँँदा पनि टुलुटुलु हेरेर बस्नु पर्ने बाँध्यता छ । अर्को पेप्सीकोला ब्रम्खेल सडक निर्माणको काम भइरहेको छ । चागु सडक निर्माणको काम पनि अगाडि बढेको छ । नगरपालिकाभित्रको अन्य सडक निर्माण गर्न योजना अगाडि बढाएका छौं । हामीले मनहरा करिडोर निर्माणलाई जोड दिएका छौं । काठमाडौं वरिपरी दस वटा नगरपालिका छ । काठ परिवेशको सबै सडक पिच नभएसम्म काठमाडौं सफा हुन सक्दैन । स्मार्ट सिटी र नमूना गरपालिका बनाउछु भनेर हिडनु भन्दा हिलो र धुलोमुक्त गर्न सक्यो भने पनि ठूलो उपलब्धी हो । हामीले आफ्नो टोल आफै बनाऔ भनेका छौं । पचास प्रतिशत समुदायले उठाएर पचास प्रतिशत बजेट नगरपालिकाले सहयोग गर्छ । यो कार्यक्रम प्रभावकारी पनि बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>