नवलपरासी

स्थानीय तहले रकम निकासा नगर्दा उधारोमा पाठ्यपुस्तक खरिद

Banner

बैशाख २२, २०७६

सल्यानका स्थानीय तहहरुले रकम निकासा नगर्दा सामुदायिक बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गरेका छन् । नयाँ पाठ्यपुस्तक खरिदका लागी स्थानिय तहहरुले फागुणको अन्तिम साता वा चैतको पहिलो साता सम्म रकम निकासा गर्नुपर्छ । तर स्थानिय तहहरुले पाठ्यपुस्तक खरिदका लागी अहिले सम्म रकम नपठाउदा बिद्यालयहरुले उधारोमा पाठ्यपुस्तक खरिद गर्न बाध्य भएका हुन् ।

भगवती आधारभूत बिद्यालय शारदा नगरपालिका १३ सल्यानचौरका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले नगरपालिकाले रकम पठाउने आसमा उधारो पाठ्यपुस्तक खरिद गरेर बिद्यार्थीलाई बितरण गर्न शुरु गरेको बताउनुभयो । फागुणको अन्तिम साता वा चैतको पहिलो साता सम्म बिद्यालयमा पाठ्यपुस्तक खरिदका लागी रकम निकासा गर्नुपर्ने भएपनि अहिले निकासा नहुदाँ उधारोमा पाठ्यपुस्तक खरिद गरेको बताउनुभयो । उहाँले नगरपालिकाले रकम नपठाएको र बिद्यालयको खातामा पैसा नभएका कारण उधारोमा पाठ्यपुस्तक खरिद गरेको बताउनुभयो ।

शारदा नगरपालिका ४ पिपलनेटामा रहेको महेन्द्र रत्न माद्यामिक बिद्यालयका प्रधानाध्यापक प्रकाश हमालले नगरपालिकाले पाठ्यपुस्तक खरिदका लागी रकम दिने भएपनि प्राप्त नभएकाले केही बिद्यालयको रकम र बाँकी उधारोमा पुस्तक खरिद गरिएको बताउनुभयो । नगरपालिकाले रकम बिद्यालयमा नपठाउदाँ बिद्यालयको रकमबाट पाठ्यपुस्तक खरिद गरिएको त्रिभुवन जनता माद्यामिक बिद्यालय बन्गाड कुपिण्डे नगरपालिका ५ च्यूराका प्रधानाध्यापक गुमाणसिंह बिष्टले बताउनुभयो । उहाँले बिद्यालयका खातामा रकम भएकाले सोही रकमबाट पुस्तक खरिद गरेर विद्यालयमा भर्ना हुन आएका बिद्यार्थीहरुलाई बितरण गर्न शुरु गरेको उहाँले बताउनुभयो ।

कर्मचारी अभाव लगाएतका बिभिन्न कारणले समयमा नै रकम निकासा हुन नसकेको स्थानिय तहहरुको भनाई छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिकामा पाठ्यपुस्तक खरिदका लागी रकम नै निकासाको छलफल नै भएको छैन् । बुधबार नगरकार्यपालिकाको बैठक बस्ने र यस बिषयमा निर्णय गर्ने नगरउपप्रमुख मन्जु यरीले बताउनुभयो । उहाँले नगरकार्यपालिकाले निर्णय गरेपनि तत्काल निकासा हुने सम्भावना भने कम रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत, लेखाअधिकृत, कर्मचारी समायोजनले सरुवा भएर गएकाले नयाँ कर्मचारी नआउन्जेल सम्म काम अगाडी नबढ्ने उहाँको भनाई छ ।

यस्तै त्रिबेणी गाउपालिकाबाट पनि पाठ्यपुस्तकका लागी अझै रकम निकासा भएको छैन् । बैशाख ५÷६ गते सम्म निकासा हुने गाउपालिकाले जनाएको छ । बिद्यालयले पाठ्यपुस्तक खरिद गरिसकेपछि मात्रै बिलका आधारमा रकम निकासा गरिने भएकाले केही ढिला भएको जनाएको छ । यता शारदा नगरपालिकाले पनि रकम निकासमा केही ढिलो भएको स्वीकार गरेको छ । लेखा प्रमुख नहुदाँ रकम निकासामा ढिला भएको बताउदैँ शिक्षा शाखा प्रमुख बिर बहादुर सेजवालले चैत २९ गते चेक काटिएको र हालै मात्र रकम निकासा भएको जानकारी दिनुभयो ।

अहिले जिल्लाका केही स्थानिय तहहरुले मात्रै पाठ्यपुस्तक खरिदका लागी रकम निकासा गरेका छन् । जिल्लाको बागचौर नगरपालिका, कपुरकोट गाउपालिका, छत्रेश्वरी गाउपालिका, सिद्धकुमाख गाउपालिका, दार्मा गाउपालिका, कालीमाटी गाउपालिकाले पाठ्यपुस्तक खरिदका रकम निकासा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>